काठमाडौं। प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री शाहले नेपाली स्वभावैले मानवतावादी रहेका र जस्तोसुकै परिस्थितिमा समेत नेपालीहरूले एकअर्कालाई सहयोग गर्दै आएको उनले उल्लेख गरेका छन।
यही मानवीय भावनालाई अहिलेको उद्धार कार्यमा व्यवहारमा उतारिरहेको उनको भनाइ छ।
उनले सरकारसँग उपलब्ध स्रोत र साधनको सीमितता रहेको स्वीकार गरेका छन्। यद्यपि, त्यसका कारण प्रभावित नागरिकको खोज तथा उद्धारमा कुनै कमी हुन नदिने उनले बताए।
सरकार आफ्नो जिम्मेवारी पूरा गर्न निरन्तर सक्रिय रहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो जिम्मेवारीको संवेदनशीलता सरकारलाई राम्रोसँग थाहा रहेको बताए।
नागरिकको जीवनरक्षा र आवश्यक राहत तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे।
“हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन र समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौं,” प्रधानमन्त्री शाहले भने।
उनले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखेको समेत बताए।
शाहका अनुसार अहिलेको विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोतको प्रयोग भइरहेको छ।
साथै, प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिइनेछ।




