काठमाडौं । त्रिशूली –३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान गरिएको थियो।
उद्धारका क्रममा दुई जनालाई जीवितै निकालिएको छ। साथै, एक जनाको शव भेटिएको छ।
उद्धार टोलीले सुरुङको प्रवेशद्वारमै ठूलो अवरोध सामना गर्नुपरेको थियो। करिब १५ मिटर क्षेत्र लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको थियो।
इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकालका अनुसार सुरुङभित्र पुग्न सहज बाटो थिएन।
उद्धारका लागि १६० मिटर लामो केबल डक्ट सुरुङलाई सम्भावित मार्ग बनाइएको थियो।
त्यसका लागि करिब १८ देखि २० हजार घनमिटर सामग्री हटाइएको थियो। चार दिन २४ घण्टा काम गरेपछि उद्धार टोली अगाडि बढ्न सफल भयो।
नेपाली सेना र सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मी सुरुङभित्र प्रवेश गरेका थिए।
पानीको फोहोरा प्रयोग गरेर लेदो हटाउँदै टोली अगाडि बढेको थियो। करिब १३० मिटर पुगेपछि सुरुङभित्रबाट मानिसको आवाज सुनिएको थियो।
उद्धार टोलीले ‘कोही हुनुहुन्छ?’ भनेर सोध्दा उताबाट ‘ठिक छ’ भन्ने जवाफ आएको थियो। त्यसपछि सुरुङभित्र मानिस जीवितै रहेको पुष्टि भएको थियो।
बाटोमा जालीसहितका थप अवरोध आएपछि पनि टोलीले काम जारी राखेको थियो। अन्ततः दुई जनालाई जीवितै बाहिर निकालिएको थियो।
इन्जिनियरहरूका अनुसार उद्धारमा हरेक चरणमा नयाँ चुनौती आएको थियो। कतिपय अवस्थामा काम गर्दै जाँदा नयाँ उपाय निकाल्नुपरेको थियो।
एकपटक डेब्रिज खस्दा उद्धारकर्ता नै सुरुङभित्र अड्किएका थिए। त्यसपछि केही घण्टा उद्धार कार्य प्रभावित भएको थियो।
यस घटनाले विपद् पूर्वतयारीको कमजोरी पनि देखाएको उनीहरूको भनाइ छ। विशेषज्ञ, उपकरण र जनशक्ति-को म्यापिङ पहिल्यै तयार हुनुपर्ने उनीहरूले बताएका छन्।
साथै, जलविद्युत आयोजनामा नियमित आपतकालीन अभ्यास आवश्यक रहेको उनीहरूको सुझाव छ।
इन्जिनियर न्यौपानेले भविष्यमा यस्ता आयोजनामा आपतकालीन कक्ष बनाउनुपर्ने बताएका छन्। त्यहाँ पानी, खाना, प्रकाश र आवश्यक सामग्री राख्न सकिने उनको सुझाव छ।
त्यसैगरी, बाढीको जोखिमलाई ध्यान दिएर सुरुङ र पावर हाउसको संरचना बनाउनुपर्ने उनले बताएका छन्।
उद्धार टोलीका अनुसार त्रिशूली–३ ए घटनालाई भविष्यका लागि केस स्टडी बनाउन आवश्यक छ।
यसबाट आवश्यक प्रविधि, उपकरण र जनशक्ति-को पहिचान गर्न सकिने उनीहरूको भनाइ छ।




