नुवाकोट। बाढीले पक्की पुल बगाएपछि त्रिशूली नदी वारपार गर्न स्थानीयले फेरि तुइनको सहारा लिनुपरेको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि विदुर नगरपालिका–१ र ९ का बस्तीबिचको आवतजावत प्रभावित भएको थियो।
सडक तथा पुलको सम्पर्क टुटेपछि अत्यावश्यक औषधि, राहत सामग्री र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्नसमेत ठुलो समस्या भएको थियो।
आवतजावत सहज बनाउन अहिले त्रिशूली नदीमा तुइन जडान गरिएको छ। तुइन सञ्चालनमा आएपछि नदी वारपार गर्न स्थानीयलाई केही सहज भएको छ।
तुइनमार्फत पारिका बस्तीमा औषधि तथा अत्यावश्यक सामग्री पुर्याउने-समेत काम भइरहेको छ।
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याउँदै दर्जनौँ पुलहरू बगाएको छ।






