भैरहवा । रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेप्रति रूपन्देहीको बेलहियामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
दुई साताअघि आएको बाढीमा विभिन्न जिल्लाका नागरिकले ज्यान गुमाएका थिए।
सोमबार साँझ नेपाल–भारत सीमा क्षेत्र बेलहियामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो।
सहभागी-ले मृतकप्रति सम्मान व्यक्त गर्दै दीप प्रज्ज्वलन गरेका थिए। त्यसैगरी कार्यक्रममा मौनधारणसमेत गरिएको थियो।
सहभागीहरूले भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
साथै, बाढीपछि सम्पर्कविहीन रहेकाहरूको खोजीका लागि सरकारको ध्यानाकर्षण गराइएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठले शोक मन्तव्य व्यक्त गरे।
उनले मृतक तथा सम्पर्कविहीनका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन आग्रह गरे।
श्रेष्ठले बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। साथै, प्रभावित परिवारलाई आवश्यक सहयोगमा कुनै कसर बाँकी नराख्न उनले अनुरोध गरे।
बेलहियास्थित पर्यटन सूचना केन्द्रअगाडि श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो।
कार्यक्रममा रूपन्देहीका होटल व्यवसायी, नागरिक समाजका प्रतिनिधि होटल एसोसिएसन नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर र स्थानीय बासिन्दा सहभागी थिए।
त्यसैगरी नेपाल–भारत मैत्री संघको पनि सहभागिता थियो। बेलहिया गाउँ समाज र बेलहिया आमा समूहका प्रतिनिधिसमेत कार्यक्रममा सहभागी भएका थिए।
सहभागीहरूले पर्यटन सूचना केन्द्रअगाडि दीप प्रज्ज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन।




