मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

१४ भदौ, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भए पनि अत्यावश्यक सामग्री तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर नजिकै त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्ग बन्द भएपछि बजारमा इन्धन तथा अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने आशंकाबीच निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्ने जनाएको हो।

राजमार्ग अवरुद्ध भएलगत्तै निगमले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मकवानपुरको हेटौंडा हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गरेर इन्धन तथा ग्यास काठमाडौं ल्याइनेछ।

‘मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौं,’ साहले भने, ‘ग्यासका धेरैजसो प्लान्ट तराईमै छन्। त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउँछौं।’
अमलेखगञ्ज डिपो मुख्य ‘ब्याकअप
साहका अनुसार काठमाडौंको इन्धन आपूर्तिका लागि अमलेखगञ्ज डिपो मुख्य ब्याकअपका रूपमा रहेको छ। पाइपलाइनमार्फत अमलेखगञ्जमा नियमित रूपमा पेट्रोलियम पदार्थ आउने भएकाले काठमाडौंमा तत्काल इन्धन अभाव नहुने निगमको भनाइ छ।

‘पाइपलाइनमार्फत हामीले चाहेजति तेल आइहाल्छ,’ साहले भने, ‘त्यहाँबाट निजी ढुवानीकर्ता तथा डिलरका २० केएल र १२ केएल क्षमताका साना ट्यांकर प्रयोग गरी ल्याउँछौं।’ सडक अवरुद्ध हुँदा आपूर्ति शृङ्खलामा केही घण्टा ढिलाइ हुन सक्ने भए पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने उनले स्पष्ट पारे।
तत्काल इन्धन अभाव नहुने
केही दिनअघिको अविरल वर्षाका कारण बाटोमा रोकिएका अधिकांश इन्धनका ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेकाले तत्काल बजारमा इन्धनको अभाव नहुने निगमले जनाएको छ।

राजमार्ग बन्द भएको खबरपछि बजारमा पेट्रोलियम पदार्थ नपाइने हो कि भन्ने त्रास फैलिन सक्ने भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ।

‘आपूर्ति सहज रूपमा भइरहेको छ र हामीले वैकल्पिक व्यवस्था गरिसकेका छौं,’ कार्यकारी निर्देशक साहले भने, ‘सबैलाई आश्वस्त हुन आग्रह छ।’ यसैबीच, अवरुद्ध मुग्लिन–काठमाडौं सडकखण्ड खुलाउने विषयमा सरकारले आवश्यक अध्ययन गरिरहेको छ।

मुग्लिन–काठमाडौं सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट इन्धन आपूर्ति
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *