काठमाडौँ, १४ कात्तिक। धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् ।
खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यति बेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् । तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ ।
वर्षाका कारण खेतमा पाकेको धान ढलेको छ भने काटेर राखेको धान भिज्ने र दाना झर्ने जोखिम बढेको किसानले बताएका छन् ।
“खेतमा धान पहेँलपुर भएर पाकेको छ । बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पाकेको धान ढलेको छ । अझै पानी परिरहेमा धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” सर्लाहिका एक किसानले भने ।
मौसममा आएको प्रतिकूलताका कारण किसानलाई खेतमा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पु¥याउन कठिनाइ भएको छ ।
धान सर्लाहि लगाएत विभिन्न ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्राउने समयमा मौसम प्रतिकूल हुँदा किसान प्रभावित हुने देखिएको छ ।
धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन् । समयमै घाम लागेर खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्राउन नपाए उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ ।




