५ जेठ,सर्लाही : सिरहा जिल्लाबाट लागुऔषध र स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित पाँच जना व्यक्ति छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार लहान नगरपालिका–२२ स्थित लबटोलीबाट दाजुबहिनी किरणकुमारी यादव (२६) र दिनेशकुमार यादव (३२)लाई ५५ लाख रुपैयाँ नगद र २०० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
गत शुक्रबार साँझ सवारी चेकजाँचको क्रममा को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद भएको थियो। अनुसन्धानको क्रममा उनीहरूकै घरमा छापा मार्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ, ३५ हजार ७८० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र ६ थान मोबाइल समेत बरामद भएको डिएसपी भगवान पासवानले जानकारी दिए।
प्रारम्भिक अनुसन्धान अनुसार दुवैजना लागुऔषध कारोबारी भएको खुलेको छ। दिनेश यादव यसअघि पनि ३ साउन २०८० मा ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए र ६ महिना कैद सजाय भोगेर ५ माघ २०८० मा जेलमुक्त भएका थिए। यसैबीच, सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा सिरहा–२ स्थित महावीर चोकबाट पक्राउ गरिएको छ।
अर्काे घटनामा, औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले बरियारपट्टी गाउँपालिका–३ बाट ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यी सबै पक्राउहरूमार्फत प्रहरीले जिल्लामा बढ्दो लागुऔषध कारोबार र अवैध वित्तीय कारोबारविरुद्ध कडा निगरानी र कारबाही अघि बढाइरहेको संकेत देखिएको छ।