मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु

मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु

काठमाडौ , भदौ ३० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ को सुकौरा सडक खण्डमा विद्युतीय इभी दुर्घटना भ‍‌एको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी दुर्घटनामा परेको थियो। उक्त यात्रुवाहक इभी मंगलबार दिउँसो करिब २ बजे गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी रहेका छन्। त्यस्तै, धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराईको पनि मृत्यु भएको छ।

यस्तै, पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह र बाराको परवानीपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठकुरीको साथमा रहेको पासपोर्ट र नागरिकताका आधारमा पहिचान खुलेको हो।

भट्टराईको नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पहिचान गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तान गम्भीर घाइते भएका छन्। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गाडी चालक बाराको कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय अमिर अन्सारी पनि घाइते भएका छन्।

हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र बाराको महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव पनि घाइते भएका छन्।

अन्सारी र तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यादव हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये यादव अवस्था मध्यम रहेको छ। अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।

घटनास्थलमा विभिन्न प्रहरी कार्यालयबाट २१ जना प्रहरी परिचालन गरिएको थियो।

त्यसैगरी सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जनाको टोली पनि घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु
मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *