काठमाडौँ, असोज १ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माण गरी दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको छ। नयाँ ट्रयाक खुलेसँगै लामो समयदेखि प्रभावित राजमार्गको आवागमन सहज बन्दै गएको छ।
बाढी तथा पहिरोका कारण कृष्णभिर सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएको थियो। त्यसपछि करिब १८ दिनसम्म यस खण्डमा नियमित सवारी आवत–जावत प्रभावित भएको थियो।
नयाँ ट्रयाक निर्माणपछि परीक्षणसमेत गरिएको थियो। परीक्षण सफल भएपछि बिहीबार बिहानैदेखि दुईतर्फी सवारी सञ्चालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो।
सडक खुलेसँगै वैकल्पिक मार्ग प्रयोग गर्दै आएका मालवाहक तथा यात्रुवाहक सवारीलाई सहज भएको छ। अब सवारीसाधन पृथ्वी राजमार्गबाटै आवत–जावत गर्न थालेका छन्।
काठमाडौँलाई पश्चिमी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्गलाई लिइन्छ। त्यसैले कृष्णभिर यस राजमार्गको महत्वपूर्ण खण्ड मानिन्छ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार कृष्णभिरमा सडक अवरुद्ध हुँदा सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो। नयाँ ट्रयाक खुलेपछि उक्त समस्या तत्कालका लागि हटेको छ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी सुरज कार्कीका अनुसार पृथ्वी राजमार्गको समग्र अवस्था अहिले सामान्य छ। कृष्णभिर खुलेपछि राजमार्गमा सवारीसाधनको आवत–जावत पनि बढेको छ।
बुधबार मात्रै करिब आठ सयदेखि एक हजारसम्म मालवाहक तथा यात्रुवाहक सवारी काठमाडौँ उपत्यका भित्रिएका थिए। बिहीबार भने त्यसको तुलनामा अझ धेरै सवारी काठमाडौँतर्फ भित्रिएको डिएसपी कार्कीले बताउनुभयो।
उहाँका अनुसार अहिले राजमार्गमा सवारीको चाप धेरै छ। यद्यपि, राजमार्गको समग्र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।
तर, कृष्णभिर खुले पनि पृथ्वी राजमार्गका सबै खण्ड पूर्ण रूपमा जोखिममुक्त भने छैनन्। वर्षायाममा पहिरो तथा सडक भासिने जोखिम अझै कायमै रहेको प्रशासनले जनाएको छ।
सम्भावित अवरोध तत्काल हटाउन प्राविधिक टोली, मेसिन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ। आवश्यक पर्दा उद्धार तथा सडक व्यवस्थापन गर्न सकिने गरी २४ घण्टा परिचालनयोग्य अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार क्षेत्रमा सडक निर्माण-को काम जारी छ। निर्माणका कारण सो क्षेत्रमा सवारी आवत–जावत एकतर्फी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाली सेनाले शीतलबजार क्षेत्रमा ब्लास्टिङ गरी सडक निर्माण तथा विस्तारको काम गरिरहेको छ। निर्माण कार्यका कारण निश्चित समय वा आवश्यकताअनुसार सवारीसाधनलाई एकतर्फी सञ्चालन गराइने गरिएको छ।
शीतलबजार क्षेत्रमा पहिरो तथा सडक अवरोधको सम्भावना रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। डिएसपी कार्कीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ।




