काठमाडौँ, असोज ४ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको यो आयोजना अहिले तीव्र गतिमा अघि बढेको हो।
मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। बाँकी कामले गति पाएसँगै आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। मन्त्रालयले मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेको जनाएको छ। साथै, निरन्तर अनुगमन र कानुनी विवाद समाधान गरेपछि निर्माण कार्यका गति लिएको हो।
ठेकेदार कम्पनी र बिमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो। अहिले नदीमा भाँचिएको १० नम्बरको पिल्लर उठाउने काम सम्पन्न भएको छ। साथै, तल्लो संरचनाको ढलान कार्य पनि सकिएको छ।
पुलको फाउन्डेसनसहित तीनवटा पिल्लरको सबलीकरणसमेत पूरा भएको छ। अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको मन्त्री लम्सालले बताउनुभएको छ। नदीमा पानीको सतह घटेपछि आगामी हप्ताबाट बाँकी ढलानको काम सम्पन्न गर्ने तयारी छ।
धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकमा माटो भर्ने काम गरिएको थियो। तर, वर्षाको पानीले माटो बगाउँदा सडकमा क्षति पुगेको छ। नदीको पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिने मन्त्रालयले जनाएको छ।
यता, सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेको छ। यसैगरी, पुलको भार परीक्षण पनि सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ। त्यसैले बाँकी संरचनागत काम पूरा भएपछि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
कमला नदीमाथिको पुल सञ्चालनमा आएपछि धनुषा र सिराहाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै, हुलाकी राजमार्गमार्फत मधेश प्रदेशका विभिन्न क्षेत्रबीचको सडक सम्पर्क थप सहज बन्नेछ।




