काठमाडौँ, असोज ३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुहुने भएको छ। भारत भ्रमणका क्रममा उहाँले भारतीय उद्योगीहरूसँग लगानीका विषयमा छलफल गर्नुहुनेछ।
भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गर्ने उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफल-लाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा हुनेछ।
कार्यक्रम परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा आयोजना हुनेछ। अर्थमन्त्री वाग्ले कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न आग्रह गर्नुहुनेछ। साथै, नेपालमा यसअघि लगानी गरिसकेका उद्योगीलाई लगानी विस्तार गर्न पनि आह्वान गर्नुहुनेछ।
त्यसैगरी, नेपालमा लगानीका लागि आवश्यक कानुनी स्थिरताबारे उहाँले सरकारको धारणा स्पष्ट पार्नुहुनेछ। लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका विषयमा पनि भारतीय उद्योगपतिसमक्ष जानकारी गराउने कार्यक्रम छ।
अर्थमन्त्री वाग्लेसँगको छलफलमा भारतीय उद्योग क्षेत्रका विभिन्न प्रतिनिधि सहभागी हुनेछन्। भारतीय उद्योग परिसङ्घका अनुसार कार्यक्रममा करिब दुई दर्जन उद्योगपति सहभागी हुनेछन्।
छलफलमा परिसङ्घका पूर्वअध्यक्ष तथा आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसमेत सहभागी हुनुहुनेछ। नेपालमा लगानी विस्तार र नयाँ लगानीका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।




