भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण

भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण

काठमाडौँ, असोज ३ गते । नेपाल आयल निगमले भदौ महिनामा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ। निगमका अनुसार उक्त अवधिमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात भएर खपत भएको हो।

भदौमा कुल ४२ लाख १३ हजार ६६१ वटा ग्यास सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ। सामान्य अवस्थामा मासिक ३० लाखदेखि ३५ लाख सिलिन्डर खपत हुने गर्छ। तर, बजारमा देखिएको ग्यास अभाव कम गर्न निगमले आपूर्ति बढाएको हो।

यसअघि साउनमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको थियो। त्यस्तै, असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ।

बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति सहज बनाउन ग्यासको कोटा बढाइएको निगमको भनाइ छ। सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक टन ग्यासको माग हुने गरेको छ।

काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर खपत हुने गरेको निगमले जनाएको छ। मुख्य राजमार्ग खुलेसँगै ग्यासको आपूर्ति पनि क्रमशः सहज हुँदै गएको छ।

बिहीबारदेखि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ। राजमार्ग खुलेपछि ग्यास बोकेका बुलेटसमेत काठमाडौँ आउन थालेका छन्। त्यसैले बजारमा ग्यासको अभाव क्रमशः कम हुँदै जाने निगमको अपेक्षा छ।

नियमित रूपमा ग्यास आउन थालेको निगमले जनाएको छ। साथै, उद्योगीहरूले काठमाडौँ आसपासका उद्योगबाट ग्यास रिफिलिङ गरी बजारमा पठाउन थालेका छन्।

आपूर्ति सहज हुँदै गएकाले आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर खरिद नगर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। यसले बजारमा अनावश्यक अभाव सिर्जना हुन नदिने निगमको भनाइ छ।

यसअघि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण ग्यास आपूर्तिमा समस्या आएको थियो। त्यसपछि गत फागुन २८ गतेदेखि चार महिनासम्म आधा तौलका सिलिन्डर वितरण गरिएको थियो।

असार ३१ गतेदेखि पूर्ण तौलका सिलिन्डर बिक्री गर्न थालिएपछि बजारमा ग्यासको अभाव थप चुलिएको निगमले जनाएको छ। त्यसैगरी, तीन साताअघि कृष्णभिरमा गएको पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास आयातसमेत प्रभावित भएको थियो।

यसैबीच, शुक्रबार काठमाडौँ उपत्यकामा चारवटा ग्यास उद्योगले पाँच हजार १०२ वटा सिलिन्डर बिक्री गरेको निगमले जनाएको छ।

भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण
भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *