अविरल वर्षाले सडक अवरुद्ध , विभिन्न राजमार्ग प्रभावित

अविरल वर्षाले

काठमाडौं, साउन ३२ । अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम सडकखण्ड प्रभावित भएका छन्। साथै संखुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डहरु पनि प्रभावित भएका छन्।

अविरल वर्षाले सडक अवरुद्ध

यसैगरी, इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक रहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएपछि अरनिको राजमार्गको लिपिङ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, अविरल वर्षाले रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएको छ। सडक कटानपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खसेको छ। पहिरोका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ।

यसैबिच , संखुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिएको छ। यसका कारण कोशी राजमार्गको खाँदबारी–किमाथांका सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षाले मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खसेको छ। पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक पनि बन्द भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेको छ। उक्त पहिरोका कारण पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम थप बढेको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी आवागमनको समय तोकिएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

अविरल वर्षाले सडक अवरुद्ध , विभिन्न राजमार्ग प्रभावित

उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्। यसैबीच, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण सवारी आवागमनमा रोक लगाइएको छ। त्यहाँ अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी छ। त्यसैले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ। आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न पनि प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *