आजदेखि सोह्र श्राद्ध सुरु, पितृ पक्षमा के गर्नुपर्छ?

आजदेखि सोह्र श्राद्ध सुरु, पितृ पक्षमा के गर्नुपर्छ?

काठमाडौँ, असोज ११ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान भने अपराह्नपछि गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।

साथै, यस अवधिलाई अपर पक्ष वा प्रेत पक्षका रूपमा समेत बुझिन्छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ।

यस समयमा पितृले आफ्ना सन्तान-बाट श्रद्धा र तर्पणको अपेक्षा गर्ने धार्मिक मान्यता रहेको छ।

त्यसैले पितृप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने परम्परा रहिआएको धर्मशास्त्रविद्हरू बताउँछन्।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ।

यद्यपि, जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध छोड्न नहुने उनको भनाइ छ।

कारणवश निर्धारित समयमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा विभिन्न विकल्पसमेत दिइएका छन्।

पिताको तिथिमा श्राद्ध गर्नुपर्ने विधान रहे पनि आपत्का कारण रोकिएका आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन्।

त्यसपछि पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने व्यवस्था छ।

त्यस समयमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अर्थात् मङ्सिरसम्म मिलाएर गर्न सकिने धर्मसिन्धुमा उल्लेख गरिएको छ।

यसैबीच, आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प रहेको प्रा. डा. भट्टराईले बताएका छन्।

भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको उनको भनाइ छ।

आजदेखि सोह्र श्राद्ध सुरु, पितृ पक्षमा के गर्नुपर्छ?

त्यसपछि पनि श्राद्ध गर्न नसकिएमा आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्प रहेको बताइएको छ।

यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने उल्लेख छ। यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध बिहानै नभई अपराह्नकालमा गर्नुपर्ने बताएका छन्। पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ।

त्यसैले बडादसैँअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व केही पछि सरेको छ।

यसै कारण आजदेखि सुरु भएको सोह्र श्राद्ध पितृलाई सम्झने र श्रद्धापूर्वक कर्म गर्ने महत्वपूर्ण धार्मिक अवधिका रूपमा दिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *