अविरल वर्षा र पहिरो : देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित

नारायणगढ–मुग्लिन सडकमा वर्षा र पहिरो आज पनि बन्द

काठमाडौं, असोज ९ गते । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोधको समस्या देखिएको छ। काभ्रे, गोरखा, खोटाङ, पाँचथर, चितवन र मकवानपुरमा वर्षाजन्य विपद्का घटना भएका छन्।

यसैबीच, काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेपछि जोखिमयुक्त क्षेत्रमा प्रहरीले सतर्कता अपनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी बढाएका छन्।

काभ्रेमा पहिरो, प्रहरी चौकी भवन जोखिममा

काभ्रेको भुम्लु गाउँपालिकास्थित प्रहरी चौकी सल्लेको आँगनमा पहिरो खसेपछि चौकी भवन जोखिममा परेको छ। शुक्रबार बिहान करिब ६ बजे चौकीको आँगनमा माथिबाट पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार पहिरोपछि चौकी भवनलाई त्रिपाल तानेर सुरक्षित राखिएको छ। भवनको आँगनतर्फको भागमा जोखिम बढेपछि थप क्षति रोक्न सुरक्षात्मक उपाय अपनाइएको हो।

पहिरोबाट चौकीमा कार्यरत प्रहरी तथा अन्य जनशक्तिमा मानवीय क्षति भएको छैन। लगातार वर्षा भइरहेकाले थप पहिरोको सम्भावनालाई ध्यानमा राखी चौकी आसपास निगरानी बढाइएको छ। भवनमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

काभ्रेमा पहिरो, प्रहरी चौकी भवन जोखिममा

पनौतीमा लेदोसहितको पहिरो , खोपासी–ढुंखर्क सडक अवरुद्ध

काभ्रेको पनौती नगरपालिका–१० पाटीखर्कस्थित खोपासी–ढुंखर्क सडकखण्डमा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

शुक्रबार बिहान करिब ८ बजे सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको डीएसपी रविन विष्टले जानकारी दिए। लगातारको वर्षाका कारण भिरालो भागबाट ढुंगा, माटो तथा लेदो खसेको प्रहरीले जनाएको छ।

पनौतीमा लेदोसहितको पहिरो , खोपासी–ढुंखर्क सडक अवरुद्ध

मनसुनका कारण मनास्लु क्षेत्रमा पदयात्रामा रोक

गोरखाको मनास्लु क्षेत्रमा पदयात्रा गर्न प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म मनास्लु क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको हो।

अविरल वर्षाका कारण मनास्लु पदमार्ग जोखिमयुक्त बनेपछि पदयात्राको तयारीमा रहेका यात्रुलाई रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले पनि बिहीबारदेखि पदयात्रामा रोक लगाएको थियो।

खोटाङमा पहिरो, दिक्तेलबाट चल्ने सवारीसाधन रोकिए

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठेंखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण लेदोसहितको पहिरो सडकमा खसेपछि दिक्तेलबाट काठमाडौं तथा पूर्वी सहरतर्फ जाने सवारीसाधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार अहिले नगरपालिकाको स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।

पाँचथरमा पहिरोले फिदिम–फालोट सडक अवरुद्ध

निरन्तर वर्षापछि आएको पहिरोले फिदिम–फालोट सडकखण्ड अवरुद्ध भएको छ। सदरमुकाम फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन र प्राङबुङ हुँदै भारतको पश्चिम बंगालसम्म जोडिने सडक बिहीबार साँझदेखि अवरुद्ध भएको हो।

फिदिम र फालेलुङको सीमावर्ती आकाशभञ्ज्याङ नजिक सडक माथिबाट लेदोसहितको पहिरो खसेको स्थानीय टीका जवेगुले बताए। यस स्थानमा यस वर्ष पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ।

नारायणगढ–मुग्लिन सडकमा वर्षा र पहिरो आज पनि बन्द

बिहीबार साँझदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार पनि बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने जनाएको छ।

निरन्तर वर्षासँगै पहिरो खसिरहेको र पहिरो हटाउने काम भइरहेकाले सडक बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा सडक भासिएको छ। भासिएको स्थानमा अहिले साना सवारीसाधन र मोटरसाइकल मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको जनाइएको छ।

नारायणगढ–मुग्लिन सडकमा वर्षा र पहिरो आज पनि बन्द
नारायणगढ–मुग्लिन सडकमा वर्षा र पहिरो आज पनि बन्द

मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमा-मा पर्ने सिमात खोलामा आएको बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।

मकवानपुरगढी–१ का ५० वर्षीय श्यामबहादुर स्याङतानलाई बिहीबार दिउँसो घर फर्किने क्रममा बाढीले बगाएको थियो। पछि खोलाको बीचमा रहेको ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाल्पाका विद्यालयमा पठनपाठन स्थगित

अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि पाल्पाका स्थानीय तहले विद्यालयमा पठनपाठन स्थगित गरेका छन्।

तानसेन र रामपुर नगरपालिकासहित अन्य स्थानीय तहले सूचना जारी गर्दै असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेका छन्।

जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न तथा खोला किनार र जोखिमपूर्ण क्षेत्रमा जान नदिन स्थानीय तहले आग्रह गरेका छन्।

अविरल वर्षा र पहिरो ले मनोहरा र हनुमन्तेमा पानीको सतह बढ्यो

लगातार वर्षापछि भक्तपुरका मनोहरा र हनुमन्ते खोलामा पानीको सतह बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नदी तथा खोला आसपासका क्षेत्रमा माइकिङ गरिरहेको छ।

मनोहरा–दिव्यश्वरी प्लानिङ, राधेराधे, बालकोट–सागबारी तथा हनुमन्ते करिडोरअन्तर्गत घट्टेखोला क्षेत्रमा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

अविरल वर्षा र पहिरो ले मनोहरा र हनुमन्तेमा पानीको सतह बढ्यो

सशस्त्र प्रहरीका एसपी बासुदेव कुँवरका अनुसार मनोहरा र हनुमन्तेमा पानीको सतह बढेको भए पनि तत्काल जोखिमको अवस्था छैन। यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *