अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाली अर्थतन्त्रमा प्रभाव

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाली अर्थतन्त्रमा प्रभाव

काठमाडौं, फागुन १७ : नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। एक अमेरिकी डलरको खरिद दर १३९ रूपैयाँ ७० पैसा र बिक्री दर १४० रूपैयाँ ३० पैसा कायम भएको छ। डलरको मूल्य वृद्धिले नेपाली बजारमा महँगी बढ्ने चिन्ता बढाएको छ, किनभने नेपाल आयातमा निर्भर अर्थतन्त्र हो। नूनदेखि सुनसम्म नेपालमा भित्रिने अधिकांश वस्तुहरू डलर तिरेर आयात गरिन्छ, जसले उपभोक्ता मूल्य वृद्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

यद्यपि, डलरको उच्च विनिमय दर विदेशमा कार्यरत नेपालीहरूका परिवारका लागि लाभदायक बन्ने देखिएको छ। नेपाली मुद्रामा डलर सटही गर्दा बढी पैसा हात पर्ने हुँदा विप्रेषण आप्रवाहमा सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार, अन्य प्रमुख विदेशी मुद्राहरूको विनिमय दर पनि उल्लेखनीय रूपमा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ २४ पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा छ भने, बेलायती पाउन्डको खरिद दर १७५ रूपैयाँ ८४ पैसा र बिक्री दर १७६ रूपैयाँ ६० पैसा कायम गरिएको छ। यसैगरी, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर लगायतका विदेशी मुद्राहरूको विनिमय दरमा पनि उछाल देखिएको छ

राष्ट्र बैंकले विदेशी विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर केही फरक हुनसक्ने हुँदा अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *