२५ माघ, काठमाडौं। नेपाल महिला टी-२० श्रृंखला: थाइल्याण्डविरुद्ध नेपालको संघर्षमहिला टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपाली टोलीकी कप्तान इन्दु बर्माले पहिला ब्याटिङ रोजेकी हुन्।
नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भइसकेको छ। नेदरल्याण्ड्ससँग २० रन, १५ रन, र १० विकेटले पराजित भएको नेपाल, थाइल्याण्डसँग चार विकेट र पाँच रनले हार ब्यहोरेको थियो।
थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो।
नेपाली टिम:
कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा छन्। आजको खेलबाट राजमती ऐरीले अन्तर्राष्ट्रिय डेब्यू गरेकी छन्।