मनाङमा १३ दिनदेखि दिनहुँ झरी, बाढीले पक्कि पुल बगायो

२०७८ असार पहिलो साता हिमालपारिको जिल्ला मनाङमा भीषणा वर्षा भयो। वर्षासँगै मर्स्याङ्दी नदी र आसपासका खहरेमा बाढी आउँदा ठूलो क्षति गर्यो। मानवीय क्षति नपुगेपछि ठूलो आकारमा भौतिक संरचनामा त्यो बेला नोक्सान पुगेको थियो।  

बाढीले त्यो बेला करिब पाँचदर्जन घरमा क्षति पुर्याएको थियो भने पुलपुलेसा बगेका थिए। सरकारी तथा निजी संरचनामा क्षति भएको थियो। लामो समय सडक अवरुद्ध हुँदा त्यो बेला मनाङबासीले खाद्यान्न ओसारपसारमा समेत सकस खेपेका थिए। बिस्थापित गाउँलेलाई घर फर्किन पनि त्यो बेला निकै नै बढी समय लागेको थियो। तीनवर्ष अघि वर्षाको त्यो त्रासदीपूर्ण अवस्था खेपेको मनाङका बासिन्दा वर्षा लाग्नासाथ डराउन थालेका छन्।  

स्थानीयका अनुसार अहिले पनि मनाङमा नियमित वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयले अहिले मनाङ सदरमुकाम चामेमा स्वचालित वर्षा मापन स्टेशन राखेको छ। चामेको उक्त स्टेशन हेरिरहेका प्राविधिक प्रकाश गुरुङका अनुसार पछिल्लो २४ घण्टा (मंगलबार बिहान पौने ९ देखि बुधबार बिहान पौने ९ सम्म)का चामेमा मात्र १८ मिलिमिटर वर्षा भएको छ।  

उनका अनुसार चामेमा गत मे महिनाको १२ तारिखमा वर्षामापन स्टेशन राखिएको थियो। त्यो स्टेशनमा रेकर्ड भए अनुसार पछिल्लो १३ दिनदेखि चामेमा दिनहुँ वर्षा भईरहेको छ। यो अवधिमा ५९.८ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी वर्षा मंगलबार भएको हो।  

‘जुन २० देखि निरन्तर वर्षा सुरु भएको थियो। त्यसको भोलिपल्ट (जुन २१) मा बाहेक अहिलेसम्म हरेक दिन धेरथोर वर्षा भएकै छ। यसले हिमाली जिल्लामा जोखिम निम्त्याउने खतरा हुन्छ,’ उनले भने, ‘नियमित वर्षा हुँदा बाढी पहिरोको जोखिम हुन्छ।’ उनका अनुसार जुलाई १ मा १.४, जुलाई २ मा ३.८ र जुलाई ३ मा १८ मिलिमिटर वर्षा भएको छ। मनाङको हुम्दे स्टेशनको भने रेकर्ड नआईसकेको उनले बताए।  

हिमाली जिल्लामा यसैपनि वर्षा कम हुने भएपनि पछिल्लो समयको नियमित वर्षाले थप पहिरो निम्त्याउने जोखिम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुती पोखरेलले बताईन। उनले पनि मनाङको चामेमा पछिल्लो २४ घण्टामा १८ मिलिमिटर वर्षा भएको बताईन।  

‘सुरुवाती अवस्थामा भए त्यो वर्षा (१८ मिमि) ले खासै फरक पार्ने होइन, किनकी माटो भिज्न पाउँथ्यो। तर, दिनहुँजसोको वर्षाले अहिले जमिन गलिसकेको छ। जमिनले पर्याप्त पानी सोसेको छ, त्यसैले अब पहिरोको जोखिम थपिन्छ,’ उनले भनिन, ‘माटो कमजोर बनेकोले सतर्क हुनुपर्छ। पानी कम पर्ने ठाउँमा लगातार वर्षा हुँदा त्यसको जोखिम बढ्न डर हुन्छ।’  

जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ असारमा मनाङका भएको मनसुनी वर्षाले त्यस भन्दा अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको थियो। मनाङ हुम्देस्थित स्टेसनको रेकर्ड अनुसार जुन १६ (२०७८ असार २) मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भएको थियो। त्यस दिन हुम्देमा ८२.२ मिलिमिटर वर्षा भएको थियो। अघिल्लो दिन असार १ गते हुम्देमा ५४.६ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि जेठ १५ मा पनि ६०.६ मिलिमिटर वर्षा भएको थियो। त्यही वर्षापछि मनाङमा बाढीले बितण्डा मच्चाएको थियो।

फेरि क्षति  

लगातारको वर्षापछि मनाङमा पक्कि र काठेपुल बगेका छन। मनाङको चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ खोलामा आएको बाढीले ढलान गरेको पक्की पुल बगाएको छ। मंगलबार बेलुकी माथिल्लो क्षेत्रमा काठेपुल बगेकोमा रातीको भेलले पक्किपुलको संरचना पनि बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए।  

‘मंगलबार बेलुकी काठेपुल बगेको थियो। राती त ढलान गरेको पक्कि पुल नै बगायो। अब मनाङसँगको स्थलमार्ग टुटेको छ,’ लामिछानेले भने, ‘अग्लो ठाउँबाट खसेको छहराले पुलमा क्षति गरेको हो। नियमित वर्षाका कारण अहिले जनजीवन प्रभावित भएको छ।’

प्रजिअ लामिछानेका अनुसार तिमाङमा पक्कि पुल बगेको ठाउँ निकै नै अप्ठेरो थियो। दुइवटा पहरोलाई खोपेर बनाइएको ठाउँमा माथिबाट झरेको गेग्रानसहितको छहराले क्षति गरेको हो। पुल करिब १० मिटर लामो थियो। पुल क्षति भएको ठाउँबाट सदरमुकाम चामे पुग्न गाडीमा पनि कम्तिमा १ घण्टा लाग्ने उनले सुनाए। ‘ढुंगासहितको छहरा पुलमाथि बजारिएपछि क्षति भएको हो,’ उनले भने।

‘अरु मानवीय क्षति त भएको छैन। तर, मनाङमा वर्षा नियमित हुँदा त्रास भने बढेको छ,’ उनले भने। उनका अनुसार अहिले पनि मनाङका खहरेमा पानीको वहाव बढेको छ। मर्स्याङ्दी नदीमा पनि वहाव बढेको छ तर, क्षति भने भएको छैन। ‘ठाडो खोला भएकोले वहावको गति तिब्र हुन्छ। त्यसैमा बढेमानका ढुंगा बगेर आउँदा जोखिम थपिन्छ,’ उनले भने, ‘बाढीले कुनैपनि बेला क्षति पु¥याउने त्रास छाएको छ।’  

उनका अनुसार पुल बगेको ठाउँमा डाइभर्सन बनाउन पनि मिल्ने अवस्था छैन। किनकी त्यहाँ अग्ला पहाड काटेर पुल बनाइएको थियो। नेपाली सेनाले २०६९ मा लम्जुङको बेशीसहरदेखि मनाङको चामेसम्म सडकको ट्रयाक खोल्ने क्रममा सडकका ठाउँठाउँमा काठेपुल राखिएको थियो। ती मध्ये केही पुललाई अघिल्लो पटकको वर्षाले क्षति गरेको थियो।  

प्रकाशित: १९ असार २०८१ १५:०५ बुधबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *