काठमाडौं । रसुवामा रहेको त्रिशूली–३ ‘ए’ सुरुङमा शव फेला परेको छ। उद्धारका लागि सुरुङभित्र गएको टोलीले एकजनाको शव फेला पारेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव फेला पारेको हो।
यसअघि शुक्रबार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुईजनालाई जीवितै उद्धार गरेको थियो।
उद्धार हुनेमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन्।
साह सप्तरीका हुन् भने महर्जन काठमाडौंका हुन्। उनीहरू आयोजनामा मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
त्रिशूली–३ ‘ए’ आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका थिए। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली उद्धारमा खटिएको थियो।
उद्धार टोलीले सुरुङभित्र पुगेर सम्पर्कविहीनको खोजी गरिरहेको छ। यसैबीच, सुरुङमा ठूलो मात्रामा हिलो भरिएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
सशस्त्र प्रहरी टोलीका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तल्ला हिलोले भरिएको छ।
अहिले सुरुङका दुई तल्ला मात्रै देखिएको बताइएको छ। सोही स्थानमा खोजी गर्दा एकजनाको शव फेला परेको हो।
यद्यपि, फेला परेको शवको पहिचान भने तत्काल खुल्न सकेको छैन। उद्धार टोलीले बाँकी क्षेत्रमा समेत खोजी जारी राखेको जनाएको छ।




