चुरीयामा बसले मोटरसाइकल किच्दा दुईजनाको मृत्यु, लालबन्दीका बस चालक पक्राउ

लालबन्दी : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर मोटरसाइकललाई किच्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटरसाइकल किचेको थियो । उक्त दुर्घटनामा दुवै मोटरसाइकल चेपिएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो । उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको हो ।

दुवैलाई अस्पताल पुर्‍याउँदा दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् । मकवानपुरस्थित सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुर्घटनास्थलमै छन् । बस पछाडि रहेको मप्र ०३–००१ ज ०६६२ नम्बरको ईभी माइक्रो गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको बाटोलाई एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *