सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ स्थित भित्रि सडकखण्डमा शुक्रबार साँझ करिब ६ बजे स्कुल बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मनकामना बोर्डिङ स्कुलको मप्र ०३-००१ क २६१९ नम्बरको बस कविलासी नगरपालिकाबाट विद्यार्थी लिएर नारायणपुर जाँदै गर्दा दाहिनेपट्टि कुलोमा भासिएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार स्कुल बस दुर्घटना हुँदा बसमा सवार विद्यार्थीहरू दुर्घटनामा परेका छन्। घाइते हुनेमा २१ वर्षीय चालक नवलकुमार महतो (ईश्वरपुर नगरपालिका-१४), ९ वर्षीय आदित्य कुमार साह (पर्सा-३), ५ वर्षीय दक्ष साह (पर्सा-३) र ६ वर्षीय कौनेन अन्सारी (पर्सा-३) रहेका छन्।
प्रहरीले दुर्घटनाग्रस्त बसको कागजी अवस्था ठिक रहेको र नारायणपुरबाट खटिएको टोलीले बसलाई घटनास्थलबाट निकाल्ने प्रयास गरिरहेको जनाएको छ।