चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर ।  प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ। मूल्याङ्कनअनुसार सर्लाही जिल्लामा सबैभन्दा कमजोर स्थानीय तह चन्द्रनगर गाउँपालिका देखिएको छ। चन्द्रनगरले कुल ३५.१६ अंक मात्र प्राप्त गरेको छ, जुन जिल्लाकै सबैभन्दा कम स्कोर हो।

आयोगले स्थानीय तहको बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन र सेवा प्रवाहजस्ता १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको हो। ती सूचकमध्ये चन्द्रनगर गाउँपालिकाले जम्मा ८ वटा सूचकमा मात्र अंक पाएको छ भने बाँकी ९ वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ। यसले पालिकाको समग्र प्रशासनिक क्षमता कमजोर रहेको संकेत गरेको छ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोमाथि पालिकालाई भ्रष्टाचारको अखडा बनाएको आरोप लाग्दै आएको छ। स्थानीय तहमा आफ्ना नातेदार र आफ्नै जातका व्यक्तिलाई करार सेवामा प्राथमिकताका साथ नियुक्त गरेको भन्ने गुनासो पनि उठ्दै आएको छ। यसले पालिकाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको छ।

लेखापरीक्षण, विद्यालयमा विद्यार्थी टिकाउ दर, र स्वास्थ्य सेवाजस्ता आधारभूत सूचकहरूमा पनि चन्द्रनगरको प्रदर्शन कमजोर देखिएको छ। धेरै सूचकमा शून्य अंक आउनुले शिक्षा, स्वास्थ्य र वित्तीय व्यवस्थापनमा गम्भीर कमजोरी रहेको स्पष्ट देखिन्छ। जिल्लामै बेरुजु रकम उच्च हुनु पनि यसैसँग जोडिएको विषय मानिएको छ।

यसरी कार्यसम्पादनमा कमजोर देखिने स्थानीय तहले आगामी दिनमा सङ्घीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानमा कटौती भोग्नुपर्ने जोखिम छ। सुधारको ठोस योजना नल्याए चन्द्रनगर गाउँपालिकाको विकास र सेवा प्रवाहमा थप समस्या देखिने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *