१ फागुन, रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। १० वर्षे सशस्त्र युद्ध सुरु गरेको यही भूमिबाट शुभकामना सन्देश दिँदै उनले नयाँ ऊर्जा र उत्साहसहित अघि बढ्ने बताएका हुन्।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो। सो युद्धलाई माओवादीले ‘जनयुद्ध’को नाम दिएको छ।
यस वर्षको जनयुद्ध दिवस आफ्नो लागि विशेष भएको उल्लेख गर्दै प्रचण्डले आफू भावुक र उद्वेलित भएको बताए। जनयुद्धकै जस्तो प्रेरणा र दृढतासहित अब फेरि राजनीतिक यात्रामा अघि बढ्ने उनको भनाइ छ।
जनयुद्धका क्रममा रुकुमेली जनताको उत्प्रेरणाबाट नै आफूले ऊर्जा पाएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको बताए। उनीहरूले गरेको संघर्ष बिना आजको समावेशी र समानुपातिक गणतन्त्र सम्भव नहुने उनको भनाइ थियो।
प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको पनि बताए। २०८४ सालमा हुने भनिएको निर्वाचन २०८२ सालमै गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले देश कठिन मोडबाट अगाडि बढिरहेको धारणा राखे। यस्तो अवस्थामा इतिहासबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनु जरुरी भएको उनले बताए।
समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा आफूले यो अवसर लिएको भन्दै उनले नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। जनयुद्धकालीन संकल्प र दृढतासहित अब फेरि राजनीतिक संघर्ष अघि बढाइने उनको भनाइ छ।


