सर्लाही : सर्लाहीमा हत्या र डाँका घटनाका एक आरोपित करिब १६ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कविलासी नगरपालिका–६ मदनपुर टोलका २५ वर्षीय महेन्द्र राय रहेका छन्।
उनलाई शुक्रबार दिउँसो २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि रायलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार घटना २०६३ साल माघ ७ गते भएको थियो।
त्यतिबेला कविलासी नगरपालिका–६ स्थित मदनपुर पनपिया पोखरी नजिकै घटना भएको थियो। उक्त स्थान तत्कालीन जमुनिया गाविस वडा नम्बर ६ अन्तर्गत पर्दथ्यो।
साँझ घर फर्किँदै गरेका राजेन्द्र प्रसाद चौधरीलाई बाटोमा रोकेर लुटपाट गरिएको थियो।
चक्रघट्टा गाउँपालिका–१ का राजेन्द्र प्रसाद चौधरी छोरासहित मोटरसाइकलमा घर फर्किँदै थिए।
त्यस क्रममा महेन्द्र रायसहितका व्यक्तिले उनीहरूको मोटरसाइकल रोकेका थिए। उनीहरूले चौधरीसँग रहेको १६ हजार रुपैयाँ डाँका गरी लुटेको आरोप छ।
त्यसपछि गोली प्रहार गरी चौधरीको हत्या गरिएको जाहेरीमा उल्लेख छ।
मृतकका छोरा सन्तोष चौधरी र जैसवालले २०६३ साल माघ ८ गते किटानी जाहेरी दिएका थिए। सोही दिन जाहेरी दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
तर, आरोपित महेन्द्र राय लामो समयदेखि फरार रहेका थिए। अन्ततः प्रहरीले उनलाई करिब १६ वर्षपछि पक्राउ गरेको हो।
हाल उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




