३१ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा प्रमुख रूपमा उठ्दै जाँदा पार्टीभित्र तीव्र मतभेद देखिएको छ। ललितपुरको जावलाखेलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई चुनौती दिँदै नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेका छन्। यद्यपि अध्यक्ष ओलीले आगामी मंसिर २७ देखि २९ सम्म एघारौं महाधिवेशन गर्ने प्रस्ताव राखेपछि तत्काल राजीनामा माग्ने तयारी केही शिथिल भएको बताइन्छ।
बैठकको सुरुवाती चरणमै ओलीले आफ्नो लिखित प्रस्तावमार्फत् नेतृत्व परिवर्तनको आवश्यकता नरहेको तर्क प्रस्तुत गरे। उनले सामाजिक सञ्जाल र अन्तर्वार्तामार्फत् दबाब सिर्जना गरेर नेतृत्व परिवर्तन सम्भव नहुने अडान लिए। “तपाईंलाई बोकेर जान सकिँदैन भने किन बोक्नु, म आफैं हिँड्छु,” भन्ने ओलीको भनाइले बैठकमा थप तिक्तता ल्याएको सहभागीहरूले बताएका छन्।
अध्यक्ष ओलीको उक्त अभिव्यक्तिले सचिव योगेश भट्टराईसँगको मतभेद झनै प्रष्ट बनाएको छ। भट्टराईले सचिवालय बैठकमा ओलीलाई राजीनामा गर्न र अभिभावकको भूमिकामा बस्न सुझाव दिएका थिए। यही सुझावपछि ओली आक्रोशित बनेका थिए। उनका अनुसार, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
त्यो परिस्थितिमा महासचिव शंकर पोखरेलले ओलीको पक्षमा सहानुभूति जनाउँदै बैठक शान्त पार्ने प्रयास गरेका थिए। तर योगेश भट्टराईले शंकरलाई नै नयाँ नेतृत्वका रूपमा अगाडि बढ्न आग्रह गरेपछि ओलीको असन्तुष्टि झनै बढेको हो। बैठकमा गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईले नेतृत्व परिवर्तनको औचित्यबारे विस्तृत धारणा राखेका थिए, जसले ओलीलाई अल्पमतमा ल्याएको देखिन्छ।
यसबीच, केन्द्रीय कमिटी बैठकमा नेताहरू क्रमशः धारणा राखिरहेका छन्। महासचिव पोखरेलले उल्टो वर्णानुक्रममा बोल्ने प्रस्ताव गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टि जनाएका थिए। बैठकमा अध्यक्ष ओलीको प्रस्ताव ६ पृष्ठको छोटो भए पनि अन्य नेताहरूले विस्तृत लिखित धारणा बुझाएका छन्। एमालेभित्र देखिएको यो आन्तरिक संघर्षले आगामी महाधिवेशन र नेतृत्व चयनमा निर्णायक मोड ल्याउने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।


