नेपालमा रेडिट प्रतिबन्धपछि युवाहरू सडकमा, ८ सेप्टेम्बरमा भ्रष्टाचार विरोधी प्रदर्शन

नेपालमा रेडिट प्रतिबन्धपछि युवाहरू सडकमा, ८ सेप्टेम्बरमा भ्रष्टाचार विरोधी प्रदर्शन

२० भदौ, काठमाडौं । सूचीकरण नगरेका भन्दै बिहीवारबाट नेपाल सरकारले रेडिट सहित थुप्रै सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छ। निर्णय सार्वजनिक भएलगत्तै युवाहरूले विरोध स्वरूप आन्दोलन गर्ने तयारी थालेका छन्।

रेडिटमा सक्रिय नेपाल सोसल र नेपाल जस्ता कम्युनिटीमा जोडिएका युवाहरूले ८ सेप्टेम्बरमा भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताएका छन्। उनीहरूले काठमाडौंमा संसद भवनअघि बिहान ९ बजे भेला हुने र पोखरामा सभाहलअघि तथा अन्य शहरका सरकारी कार्यालयअघि प्रदर्शन गर्ने योजना बनाएका छन्।

धेरै युवाले रेडिटलाई वैकल्पिक सामाजिक सञ्जालको रूपमा प्रयोग गर्दै आएका छन्। यसमा पोस्ट, कमेन्ट र छलफल गुपचुप तरिकाले गर्न सकिने भएकाले पछिल्लो समय यसले युवापुस्ताबीच ठूलो लोकप्रियता हासिल गरेको छ।

रेडिटमा अहिले इन्डोनेसिया र फिलिपिन्समा चलेको भ्रष्टाचार विरोधी आन्दोलनबारे समेत व्यापक चर्चा भइरहेको छ। नेपाली प्रयोगकर्ताहरूले समेत यसै सन्दर्भमा राजनीतिज्ञहरू र उनीहरूका सन्तानहरूको विलासी जीवनबारे उजागर गर्ने काम थालेका छन्।

फेसबुक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको घटनाप्रति युवाहरू रेडिटमार्फत आक्रोश पोखिरहेका छन्। उनीहरूले प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि चोट पुर्‍याएको भन्दै सडकमा उत्रनुको विकल्प नभएको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *