काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै पटक हेरिने फिल्म बनेको छ। यो फिल्म हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत चार वर्षअघि सार्वजनिक गरिएको थियो।
शुक्रबारसम्म यसलाई ३ करोड ७० लाख भन्दा बढी पटक हेरिएको छ। यसले नेपाली फिल्म क्षेत्रमा युट्युबमार्फत सर्वाधिक लोकप्रियताको कीर्तिमान कायम गरेको छ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल र नीर शाहको अभिनय देख्न पाइन्छ। सामाजिक कथा, हास्य र भावनाको मिश्रण भएको यो फिल्म दर्शकमाझ निकै चर्चित बनेको थियो।
युट्युबमा सबैभन्दा धेरै हेरिएको दोस्रो नेपाली फिल्म ‘क्याप्टेन’ बनेको छ। अनमोल केसी स्टारर यो फिल्मलाई ३ करोड ६३ लाख भन्दा बढी पटक हेरिएको छ।
तेस्रो स्थानमा प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत’ रहेको छ। यसलाई हालसम्म ३ करोड ४४ लाख पटक हेरिएको छ। यी तथ्यहरूले युट्युबलाई नेपाली चलचित्रको लोकप्रियता नाप्ने महत्त्वपूर्ण माध्यम बनाइरहेको देखाउँछ।