काभ्रे, साउन ४ — काभ्रेको भुम्लु गाउँपालिका–८, पौवा नजिक एक यात्रुबाहक बस दुर्घटना मा परेको छ। आज अपराह्न १२:२० बजे काठमाण्डौ गइरहेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
बसमा जम्मा ३२ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, दुर्घटनामा परी हालसम्म ७ जना यात्रु घाइते भएका छन्। उनीहरूको नाम, वतन र अवस्था विवरण आउन बाँकी रहेको छ। घाइतेहरूलाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल लगिएको छ।
समाजसेवी सन्त तामाङका अनुसार दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको हो। उनले घाइतेहरूको तत्काल उद्दार गरी स्वास्थ्य संस्थासम्म पुर्याइएको जानकारी दिएका छन्।
बस अहिले घटनास्थलमै रहेको बताइएको छ भने चालकलाई प्रहरी चौकी दोलालघाट, काभ्रेले नियन्त्रणमा लिएको पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेलका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
यस घटनाले नेपालमा सार्वजनिक सवारी साधनको मर्मतसम्भार र नियमित प्राविधिक परीक्षणको आवश्यकता झनै गम्भीर रूपमा देखाएको छ। सुरक्षा निकायले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।



