काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशको समग्र शान्ति सुरक्षा अवस्था सन्तोषजनक रहेको बताएका छन्। शुक्रबार संघीयता सलबिकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सरकार अपराध नियन्त्रण र नागरिक सुरक्षामा निरन्तर संलग्न रहेको बताए।
गृहमन्त्री लेखकले नागरिकको जिउ, धनको सुरक्षा तथा अपराधको न्यूनीकरण गृह मन्त्रालयको पहिलो जिम्मेवारी भएको स्पष्ट पारे। उनका अनुसार, अपराध भएपछि अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा मन्त्रालय क्रियाशील छ।
उनले पुराना मुद्दामा फरार अभियुक्तहरू पनि हालै पक्राउ पर्न थालेको र सुरक्षा निकायको भूमिका प्रभावकारी बनेकोमा सन्तोष व्यक्त गरे। यो समग्र शान्ति सुरक्षा अवस्था सुधारको सूचक भएको उनले बताए।
संविधान र कानुनको कार्यान्वयन, सुशासनको प्रवर्द्धन तथा विपद् व्यवस्थापनजस्ता गृह मन्त्रालयका नियमित कार्यहरूमा समेत मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले लागू औषध निषेध, न्यूनीकरण र नियन्त्रणमा सबै निकायबीचको सहकार्य अपरिहार्य भएको धारणा राखे। साथै, सडक दुर्घटनाको न्यूनीकरण गृह मन्त्रालयको प्राथमिकतामा रहेको पनि उल्लेख गरे।
उनले अघिल्लो वर्षको अवस्थासँग तुलना गर्दा अहिले समग्र शान्ति सुरक्षा अवस्थामा स्पष्ट सुधार देखिएको बताए। अपराध नियन्त्रणदेखि सुशासनसम्म मन्त्रालयका पहलहरू असरदार बन्दै गएका छन् भन्ने विश्वास व्यक्त गरे।


