२८ माघ, काठमाण्डौ : बाढीपहिरोले क्षतिग्रस्त भएको पाँच महिना पुग्न लाग्दा पनि बिपी राजमार्ग पुनर्निर्माण कसरी गर्ने भन्ने निष्कर्षमा पुग्न नसकिएको छ। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने यो राजमार्ग गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट करिब १२ किलोमिटर क्षेत्र क्षतिग्रस्त भएको थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले क्षतिग्रस्त क्षेत्रमा स्थलगत अनुगमन गरी पुनर्निर्माण चाँडै सुरु गर्न निर्देशन दिए पनि पुनर्निर्माणको स्वरूपबारे अन्योल कायमै छ।
सडक विभागले तीन विकल्पमाथि छलफल गरिरहेको छ— पहिलो, उच्च पुल (भायडक) निर्माण गर्ने, दोस्रो, पहाडको भित्तो खोस्रेर नयाँ ट्र्याक बनाउने, र तेस्रो, जमिन सतहबाट भित्तो उठाएर सडक निर्माण गर्ने। लागतको हिसाबले तेस्रो विकल्प उपयुक्त देखिए पनि कुनै ठोस निर्णय भइसकेको छैन।

यसैबीच, जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माणमा चासो देखाएको छ। जापानी प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी स्वदेश फर्किसकेको छ, र उनीहरूको प्रतिवेदन प्राप्त भएपछि थप निर्णय हुने बताइएको छ। विसं २०७२ मा जापानको आर्थिक सहयोगमा निर्मित यो राजमार्ग पुनर्निर्माणमा अहिले प्रतिकिलोमिटर ५० करोड रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।