काठमाण्डौ : बाढी र पहिरोले ठुलो क्षति पुर्याएको बिपी राजमार्ग दशैं अघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले लगातार प्रयास गरिरहेको भए पनि क्षतिको परिमाण ठुलो भएकाले डाइभर्सनमार्फत ट्रयाक खोल्न अझै धेरै समय लाग्ने बताएको छ ।
यस सूचनाले दशैंमा बिपी राजमार्ग हुँदै सिन्धुली आउने र पूर्व जाने योजना बनाएका यात्रुहरूलाई थप सास्ती दिएको छ । त्यसमाथि पृथ्वी राजमार्गमा पनि समस्या देखिएकाले घर फर्किने यात्रुहरू झनै समस्यामा पर्ने भएका छन् ।
यद्यपि, सरकारले चाहेमा बिपी राजमार्ग आसपासका ग्रामीण सडकहरू मार्फत पूर्वतिर जाने वैकल्पिक मार्गहरू व्यवस्था गर्न सक्ने देखिन्छ । पहिलो विकल्पका रूपमा धुलिखेल-भुकुण्डेबेशी, तेमाल, मेच्छे हुँदै नेपालथोकको सडकलाई प्रयोग गर्न सकिन्छ । भुकुण्डेसम्मको सडक सञ्चालनमा छ र तेमालको बाटो हुँदै बिपी राजमार्गमा पुनः जोड्न सकिन्छ । यद्यपि, यो बाटो पनि पहिरोबाट प्रभावित भएकोले बिहीबार ट्रयाक मात्र खुलाइएको छ ।
त्यसैले हामीले सिन्धुली सहित सिन्धुलीको बाटो भएर पूर्वजाने यात्रुहरूलाई यी ४ वैकल्पिक मार्गहरू सिफारिस गर्दछौँ ।
पहिलो विकल्प:
काठमाण्डौबाट सिन्धुली आउनको लागि धादिङको नौबिसे त्रिभुवन राजपथ हुँदै मकवानपुरको पालुङ-हेटौँडाबाट मदनभन्डारी मार्ग हुँदै सिन्धुली आउन सकिन्छ । सबै ठाउँमा कालोपत्रे गरिएको छ। यसको मार्गको लम्बाई सिन्धुलीमाढीसम्म आइपुग्दा २ सय ३० किलोमिटर रहेको छ ।
दोस्रो विकल्प:
दोस्रो विकल्पको रूपमा थानकोट भएर चन्द्रागिरि- कुनसाल हुँदै पालुङ आएर हेटौँडा झरेर सिन्धुली आउन सकिन्छ । यो मार्ग दुरीको हिसाबले केही छोटो भए पनि कच्ची र उकाले भएकाले अलि अप्ठ्यारो रहेको छ । थानकोट-चन्द्रागिरीमा भर्खरै ट्रयाक खोलेको हुँदा कच्चि रहेको छ । यो मार्ग भएर सिन्धुलीमाढी आइपुग्न २ सय १० किलोमिटर दुरी पर्दछ ।
तेस्रो विकल्प:
तेस्रो विकल्प अरनिको राजमार्ग हो, जसले दोलालघाट, चरिकोट, मन्थली हुँदै सित्खाबाट सिन्धुलीको मुलकोट नजिकै बिपी राजमार्गलाई जोड्छ । यस मार्गबाट मुल्कोबाट खुर्कोट हुँदै सिन्धुलीमाढी आउन सकिन्छ । खुर्कोटसम्म आइपुग्दा २ सय ३१ किलोमिटर रहेको छ भने, सिन्धुलीमाढी आइपुग्न २ सय ७० किलोमिटर पर्दछ ।
चौथो विकल्प:
त्यसैगरी स्थल मार्ग बाहेक चौथो विकल्पको रूपमा हवाई मार्गको प्रयोग गर्न सकिन्छ । काठमाण्डौबाट जनकपुर झरेर पनि सिन्धुली आउन सकिन्छ ।