काठमाडौँ : नेपालमा वन समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता देखाएको छ। आयोजना निर्माणमा वनका कारणले हुने अवरोध र लागत वृद्धिलाई समाधान गर्न ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा अन्तर मन्त्रालयस्तरिय छलफल सुरु गरिएको हो।
ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलमा मन्त्री खड्काले सरकारले लिएको २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न वन समस्या समाधान गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले कानुनी अड्चनहरूलाई हटाएर काममा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो।
ऊर्जामन्त्री खड्काले नेपालको विद्युत् उत्पादनमा भएको वृद्धिलाई ध्यानमा राख्दै अनावश्यक अवरोधहरू हटाउनुपर्ने बताउनुभयो। उहाँले दुरदराजका क्षेत्रमा बत्ती पुर्याउन पनि वन समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
वन तथा वातावरण मन्त्री शाहीले वन समस्या समाधान का लागि मन्त्रालयले विभिन्न सुधारका योजनाहरू बनाइरहेको र ऊर्जासँग सम्बन्धित समस्या समाधान गर्न आफ्नो मन्त्रालयले प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो। उहाँले वन संरक्षण र विकासलाई सँगै अघि बढाउन आवश्यक रहेको भन्दै, सरकारको लक्ष्य प्राप्तिमा मन्त्रालय बाधक नबन्ने स्पष्ट पार्नुभयो।Source link