काठमाडौँ: सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी, र पत्रकारहरूमाथि फेक अडियो प्रकरण मार्फत लाञ्छना लगाउने आरोपमा फरार रहेका राजकुमार तिमल्सिनालाई प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट बुधबार साँझ पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
तिमल्सिनाले तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा सीधा कुरा अनलाइन मार्फत सार्वजनिक गरिएको थियो, जसले व्यापक विवाद निम्त्यायो। यस प्रकरणमा तिमल्सिनासहित अन्य दुई व्यक्तिलाई समेत प्रतिवादी बनाइएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्ध मुद्दा दायर गरेको थियो। तिमल्सिनासहित सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना यस मुद्दामा प्रतिवादी थिए। कँडेल र ढुंगाना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् भने तिमल्सिना फरार रहेका थिए।
फेक अडियो प्रकरण सार्वजनिक भएपछि साइबर ब्युरोले अनुसन्धान थालेको थियो र फेक अडियोको प्रमाणिकता पुष्टि गरेपछि मुद्दा दायर गरिएको हो। तिमल्सिनाको गिरफ्तारीपछि अब उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने अपेक्षा गरिएको छ।Source link