काठमाण्डौंः काठमाडौँ उपत्यकामा पोलियो रोग विरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहको मागपछि थप तीन दिनसम्म अभियान जारी राख्ने निर्णय गरेको हो।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार, हालसम्म लक्ष्यभन्दा बढी काठमाडौँ उपत्यकामा पोलियो रोग विरुद्धको खोप बालबालिकालाई दिइएको छ। करिब दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य थियो, तर दुई लाख ८४ हजार ६३४ बालबालिकालाई खोप खुवाइएको छ।
पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट खुवाइन्छ। स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर-घर पुगेर खोप खुवाउने काम गरिरहेका छन्। पोलियो रोग दूषित खाना र पानीबाट सर्ने सङ्क्रामक रोग हो, जसले ज्वरो, पखाला, जीउ दुखाइ, र गम्भीर अवस्थामा पक्षघात र मृत्युसम्म गराउन सक्छ। सन् २०१४ मा पोलियोमुक्त घोषित भएको नेपालले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।