काठमाण्डौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्। मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिएअनुसार, मन्त्री थापाले सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी भएर काम गरेका कारण बर्खास्त गरिएको हो।
जोशीले भने, “प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, मन्त्री थापाले उक्त अधिवेशनमा सहभागी भएर सरकारको नीति उल्लंघन गरेका कारण मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन्।”
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माग अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन साउन ८ गतेबाट जारी छ। अधिवेशनका पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित थिए। थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य छन्।
प्रदेश सरकारबाट एमाले बारिएपछि असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् र संविधानअनुसार साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्नेछ।
प्रदेशसभाको आजको दोस्रो बैठकमा वर्षासँग उत्पन्न विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिहरूलाई क्षतिपूर्ति र प्रभावितहरूलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो। विशेष समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राखेका थिए।