नेपाली क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान आसिफ सेख नेपाली टिमबाट एक हजार टी-ट्वेन्टी रन पूरा गर्ने खेलाडीमा पर्छन्। दाजु आरिफसँगै क्रिकेट खेलेर करियर सुरु गरेका आसिफ परिवारले बनाएका कुशल खेलाडी हुन्। आईसीसीको स्पिरिट अवार्डसमेत जितिसकेका आसिफ टी-ट्वेन्टी विश्वकप खेल्दा खेलको केन्द्रमा रहने खेलाडीमध्येका एक हुन्।
आसिफको क्रिकेट यात्रा वीरगन्जबाट सुरु भएको हो, जहाँ उनले सुरुआती दिनमा नारायणी रंगशालामा दाजु आरिफसँगै क्रिकेट खेल्थे। आरिफकै लागि बलिङ गर्ने क्रममा विकेट किपिङको कला पनि विकास भएको थियो। सन् २०१२ मै अन्डर सिक्सटिनको एलिट कपमा छनोट भएका आसिफले २०१७ को इमर्जिङ टिम्स एसिया कपमा नेपालको कप्तानी गरेका थिए। उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुल्दै, आसिफले सन् २०१६ मै एभरेस्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अन्डर नाइन्टिन टिममा स्थान पाएका थिए।

कीर्तिपुरको क्रिकेट मैदानमा तीन वर्षअघि नेदरल्यान्डसँग सिरिज खेल्दै टी-ट्वेन्टी आईमा डेब्यु गरेका आसिफले डेब्युमै अर्धशतक प्रहार गरेका थिए। कुशल भुर्तेलसँग ११६ रनको साझेदारी गरेका आसिफ एकदिवसीयमा पनि सँगै ओपनिङ गर्दै आएका छन्। प्रशिक्षक डेभ वाट्मोरले आसिफलाई कुशल भुर्तेलसँग ओपनिङ जोडीको रुपमा स्थापित गरेका छन् र विकेटकिपिङमा समेत उनी निर्विकल्प छन्।
आसिफको करियरसँग सधैं जोडिएको कुरा हो- आईसीसीको स्पिरिट अवार्ड । यस्तै, अवार्ड विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबले पनि उनलाई दिएको छ । यी दुई अवार्ड पाउने आसिफ एक्लो नेपाली खेलाडी हुन् । पछिल्लो तीन वर्षयता सिनियर टिमका सबै खेलमा ओपनिङ गरिरहेका आसिफले ४४ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । त्यसक्रममा उनले पाँच अर्धशतकसहित एक हजार २३ रन प्रहार गरिसकेका छन् ।

एकदिवसीय क्रिकेटमा उनले ४९ खेलका एक शतक र १२ अर्धशतकको मद्दतमा १४ सय एक रन बनाएका छन् । उनी यस प्रारूपमा सर्वाधिक रन बनाउने दोस्रो नेपाली ब्याटर हुन् । बलिया प्रतिद्वन्द्वीविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका उनले गत वर्ष एसिया कपमा भारतविरुद्ध ५८ रनको अर्शशतकीय इनिङ्ससमेत खेलेका थिए । उनीमाथि टी-ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने जिम्मेवारी छ ।


