काठमाडौं । ललितपुरको बालकुमारी शुक्रबार बिहान एकाएक अशान्त बन्यो । प्रर्दशनमा उत्रिएको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो जलाएपछि बालकुमारी क्षेत्र तनावग्रस्त बन्यो । मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर प्रर्दशनकारीले गाडीमा आगजनी गरेका थिए । मन्त्रीसहित गाडीमा उनका निजी सुरक्षा गार्ड (पीएसओ) नेपाल प्रहरीका सहायक निरीक्षक बोधराज दनुवार थिए ।

दनुवारले मन्त्री ज्वालाई सुरक्षित स्थानतिर लगेका थिए । गाडीका चालक प्रेमबहादुर शाह एक्लै थिए । प्रर्दशनकारीले सुरुमा गाडीको टायरबाट हावा फुस्काए । त्यसको करिब २० मिटेनपछि मात्रै प्रर्दशनकारीले गाडीमा आगो लगाएको चालक शाह बताउँछन् । गाडीबाट निस्केका मन्त्री पीएसओसहित गाडी जलेको स्थानभन्दा करिब पाँच सय मिटर पछाडि कान्तिपुर गार्डेन पार्टी प्यालेसमा फर्किएका थिए ।

उनी बिहान करिब ९ बजे मन्त्री क्वाटर पुल्चोकबाट एकीकृत समाजवादी पार्टीले नै आयोजना गरेको कार्यक्रममा भाग लिन उक्त गार्डेन पुगेका थिए । कार्यक्रम सकेर सिंहदरबार फर्किन लाग्दा उनको गाडीमाथि आगजनी भएको हो । आगजनीपछि भने प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो । प्रहरीले दर्जनौँ अश्रुग्यास तथा हवाई फायर गर्यो । प्रहरीको गोली लागेर अछामका युवा विरेन्द्र शाह र अश्रुग्यासको सेल लागेर दैलेखका सुजन राउतको ज्यान गएको छ ।

शाहको पाटन अस्पताल र राउतको ललितपुरकै किस्ट मेडिकलमा उपचारका क्रममा निधन भएको हो ।


