काठमाडौँ । चीनले नेपाललाई बेलीब्रिज सहयोग गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि चीनले आपतकालीन सामग्री पठाएको हो। चीनको सिजाङ स्वायत्त क्षेत्रका सामग्री पठाइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।
बेलीब्रिजसहितको सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुख–दुःखमा ऐक्यबद्धता’ सन्देशसहित सामग्री हस्तान्तरण गरिएको थियो।
शुक्रबार राति हस्तान्तरण गरिएको सहयोगले दुई देशबीचको सद्भाव देखाएको दूतावासले जनाएको छ। साथै, विपद्को समयमा चीनले नेपाललाई सहयोग गरेको जनाएको छ।
उक्त सहयोगले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहायता सामग्रीमा बेलीब्रिजका विभिन्न महत्वपूर्ण उपकरण समावेश छन्। सामग्रीमा बेली प्यानल, सुदृढ सस्पेन्सन रड र सपोर्ट फ्रेम रहेका छन्।
त्यसैगरी, ब्रिज डेकिङ र आई–बीम पनि सामग्रीमा समावेश छन्। यी सामग्रीबाट विपद् प्रभावित क्षेत्रमा दुईवटा बेलीब्रिज जडान गर्न सकिनेछ।
नेपालका पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्ने दूतावासले जनाएको छ। साथै, उद्धार तथा राहत कार्य सञ्चालनमा पनि सामग्री उपयोगी हुने बताइएको छ।
चीनको ल्हासास्थित विदेश मामिला कार्यालयले नेपाली महावाणिज्य दूतावासलाई सामग्री हस्तान्तरण गरेको हो। त्यस क्रममा नेपालका महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाले चीनप्रति आभार व्यक्त गरे।
महावाणिज्य दूत निरौलाले विपद्को समयमा चीनले देखाएको तत्परताको प्रशंसा गरे। समयमै प्राप्त सहयोगले दुई देशबीचको मित्रता थप मजबुत बनाएको उनले बताए।
यसैबीच, बाढी तथा पहिरो-बाट प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ। बेलीब्रिज निर्माणपछि प्रभावित क्षेत्रमा यातायात सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।




