१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
सरकारले रसुवा चार, नुवाकोटका चार, धादिङका चार, तनहुँका दुई र गोरखाको एक स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको जनाएको छ।
कुन–कुन स्थानीय तह संकटग्रस्त क्षेत्रमा परे?
विपद् संकटग्रस्त क्षेत्रमा रसुवा उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिका रहेका छन्।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन्।

धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषणा भएका छन्।
त्यस्तै , तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका पनि उक्त सूचीमा परेका छन्।
तीन महिनाका लागि घोषणा
सरकारले यी १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो
। नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहमा ठूलो क्षति पुगेकाले यस्तो निर्णय गरिएको राजपत्रमा उल्लेख छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुने बताइएको छ।





