विवाह पञ्चमीमा माछामासु र मदिरा बिक्रीमा रोक

मलंगवामा विवाह पञ्चमीका दिन माछामासु र मदिरा बिक्रीमा रोक

मलंगवा । सर्लाहीको मलंगवामा आज धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमीको सम्मानस्वरूप माछामासु र मदिरा बिक्रीमा पूर्ण रोक लगाइएको छ। नगर क्षेत्रभित्रका स्थानीय व्यवसायी र बासिन्दालाई एक दिनका लागि कुनै पनि प्रकारको पशुपन्छी वध नगर्न पनि अनुरोध गरिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बजार र पसलहरूमा आज मदिरा, माछा र मासुजन्य वस्तु नबेच्न र वितरण नगर्न स्पष्ट अपिल गरेको छ। नगर प्रशासनका अनुसार यो निर्णय धार्मिक वातावरणलाई शान्त र पवित्र राख्नका लागि लिइएको हो।

नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवले जारी गरेको सूचनामा सबैले सहकार्य गर्न आग्रह गरिएको छ। उनले सूचनामार्फत नगर क्षेत्रका खाद्य तथा मदिरा व्यवसायीलाई नियम पालना गर्न विशेष ध्यान दिन भनेका छन्।

धार्मिक पर्वको सुरक्षात्मक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य पनि यस प्रतिबन्धसँग जोडिएको छ। अधिकारीहरूका अनुसार यस्ता महत्वपूर्ण पर्वहरूमा सामाजिक सद्भाव र अनुशासन कायम राख्न स्थानीय तहको सक्रियता आवश्यक हुन्छ।

यसैबीच, मलंगवाका स्थानीयले जनकपुरको परम्परा झैँ नगर परिक्रमा गर्दै प्रतिकात्मक रूपमा राम र सीताको विवाह गर्ने तयारी मिलाएका छन्। यसले विवाह पञ्चमीको वातावरणलाई अझै उत्सवमय बनाउन सहयोग गर्ने स्थानीयहरूको विश्वास छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *