मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

काठमाडौं ।सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेर चर्चामा आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीआईबीको नेतृत्वमा पठाउने निर्णय गरेको हो। यसअघि चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहकमा मात्रै सञ्चालन भइरहेको थियो।

केसी नेतृत्वको टोलीले २०७९ चैत १२ मा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। उनीहरूको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी समेत यस प्रकरणमा संलग्न रहेको तथ्य सार्वजनिक भएको थियो।

तर, तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण केसीलाई अनुसन्धान जिम्मेवारीबाट हटाइएको थियो। विशेषगरी, उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको घटनापछि नेपाली कांग्रेसले उनको भूमिकामा असन्तुष्टि जनाएको थियो। त्यसपछि उनलाई प्रभावशाली जिम्मेवारी नदिइ प्रदेश समन्वय विभागमा मात्र सीमित गरिएको थियो।

प्रहरी वृत्तका जानकारहरूका अनुसार केसीको पुनः नियुक्ति नेपाल प्रहरी संगठनमै एउटा सन्देशको रूपमा आएको छ। विगतमा दबाबका कारण रोकिएको उनको करियर पुनः गतिमा आएको भन्दै प्रहरी भित्र उत्साह थपिएको छ। केसीलाई इमानदार र कडाइका साथ अनुसन्धान गर्ने अधिकारीका रूपमा लिइने गरिन्छ।

अब उनको नेतृत्वमा सीआईबीले लामो समयदेखि अधुरो अवस्थामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई पुनः सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। यो प्रकरणमा संलग्न अन्य राजनीतिक र प्रशासनिक पदाधिकारीमाथि पनि अनुसन्धान तीव्र हुने संकेत प्रहरी अधिकारीहरूले दिएका छन्। यससँगै सीआईबीको भूमिकाले नेपालको अपराध अनुसन्धान प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नमा सर्वत्र चासो बढेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *