१० असार, काठमाडौं । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ई–ड्राइभिङ लाइसेन्स (EDL) वितरण सुरु हुने बताएका छन्। उनले सवारी चालकहरूलाई आवश्यक पर्ने स्मार्ट लाइसेन्स छिटो उपलब्ध गराउन सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
मन्त्री महर्जनका अनुसार, हालै सुरु गरिएको ईडीएल प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको छ। उनले प्रदेश स्तरमै डिजिटल प्रणालीको प्रभावकारी प्रयोग गर्दै सवारी व्यवस्थापन, सुरक्षा र सेवाको गुणस्तर बढाउने उल्लेख गरे।
गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बागमती प्रदेशमा ईडीएल प्रणाली र अनलाइन बिलबुक सेवा सुरुवात गरिएको थियो। सो परियोजनाले सवारी चालकहरूलाई अनलाइनमार्फत आवेदन, फिंगरप्रिन्ट, फोटो र हस्ताक्षरका आधारमा लाइसेन्स प्रक्रिया सहज बनाउने लक्ष्य राखेको छ।
मन्त्री महर्जनले भने, “अब लाइसेन्सका लागि लामो समय कुर्नु पर्दैन, साउन महिनाभित्रै छपाइ सुरु गरेर वितरण गरिनेछ। प्रदेश सरकार डिजिटल नेपालको अभियानमा सँगै उभिएको छ।”
प्रदेश सरकारले यातायात प्रशासनलाई आधुनिक बनाउँदै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नागरिक सेवा प्रदान गर्न ईडीएललाई प्राथमिकता दिएको हो।


