काठमाडौँ, फागुन १८ : संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले आइतबार लोकसेवा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको छ।
छलफलपछि उपसमितिका संयोजक एवं नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐनको तयारीमा संसदीय उपसमिति सक्रिय रहेको बताए। उनले संघीय निजामती सेवा ऐनको गठन, सञ्चालन, सेवा र शर्तका विषयमा विधेयकमा व्यापक छलफल भइसकेको जानकारी दिए।
बडूका अनुसार संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अघि बढाउनुपर्ने भए पनि केही विवादित विषयहरू टुंग्याउन गृहकार्य भइरहेको छ। उनले १४ वटा विषयहरूमा सहमति तयार पारिएको उल्लेख गर्दै, संघीय निजामती सेवा पनि तहगत प्रणालीमा लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए।
सांसदहरूबीच संघमा तहगत र श्रेणी प्रणाली एकसाथ लागू गर्ने सहमति भएको र कुलिङ पिरियड (Cooling Period) आवश्यक पर्नेमा अधिकांश सांसदहरू सहमत रहेको उनले बताए। तोकिएको समयभित्र उपसमितिले प्रतिवेदन समितिलाई बुझाउने प्रतिबद्धता पनि व्यक्त गरे।