मुगु, फागुन १७ : मुगु जिल्लामा परेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। फागुन १५ गतेदेखि जारी भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ। विशेष गरी घुच्चीलेक क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायात ठप्प भएको छ।
यातायात व्यवसायी कमल रोकायाका अनुसार मालवाहक तथा यात्रुवाहक दर्जनौँ सवारीसाधन घुच्चीलेक क्षेत्रमा अलपत्र परेका छन्। घुच्चीदेखि वाँदखोलासम्मको सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेकाले यात्रुहरू गन्तव्यमा पुग्न नसक्ने अवस्थामा पुगेका छन्।
हिमपातको असर सिधै यात्रुहरूमा परेको छ। अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्चीलेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न असम्भव भएको छ। प्रशासनले तत्कालै राहतका उपायहरू खोजिरहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डेले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी एक्स्काभेटर प्रयोग गरेर हिउँ पन्छाउने कार्य भइरहेको जानकारी दिनुभएको छ। प्रशासनको लक्ष्य दिउँसो २ बजेभित्र सडक सञ्चालनमा ल्याउने भए पनि प्रतिकूल मौसमले चुनौती थपेको छ। यात्रु तथा व्यवसायीलाई सुरक्षित रहन आग्रह गर्दै प्रशासनले धैर्य गर्न अनुरोध गरेको छ।