कोशी प्रदेशमा चार पर्यटकीय पदमार्ग निर्माण, दुई अर्ब ४५ करोड लगानी

कोशी प्रदेशमा चार पर्यटकीय पदमार्ग निर्माण, दुई अर्ब ४५ करोड लगानी

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो चार पर्यटकीय पदमार्ग निर्माण भइरहेको जानकारी दिएका छन्। विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको उद्घाटन गर्दै उनले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, र मौलिक संस्कृतिको जगेर्नाका लागि यी परियोजनाहरू अघि बढाइएको बताए।

मुख्यमन्त्री कार्कीका अनुसार चारवटा पदमार्गमा मुन्धुम पदमार्ग (१६८ किलोमिटर), लालीगुराँस पदमार्ग (१६० किलोमिटर), चिया पदमार्ग (१९ किलोमिटर), र महागुरू फाल्गुनन्द पदमार्ग (६८ किलोमिटर) समावेश छन्। यी पदमार्गहरूको निर्माण २०८१ साउनदेखि सुरू भइसकेको छ र २०८५ साउनभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।

परियोजनाको कुल लागत दुई अर्ब ४५ करोड रहेको छ। यसमा स्वीट्जरल्यान्ड सरकारको एक अर्ब ३५ करोड अनुदान, नेपाल सरकारको २० करोड, कोशी प्रदेश सरकारको ४५ करोड, र २९ स्थानीय पालिकाको ४४ करोड लगानी रहनेछ।

मुख्यमन्त्री कार्कीले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाइने घोषणा गर्दै पर्यटन, कृषि र व्यापारका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार दृढ रहेको बताए। इलाममा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाका लागि तयारी भइरहेको र चीन, भारत, युरोपका १५० भन्दा बढी चिया व्यापारीको सहभागिता अपेक्षा गरिएको उनले जानकारी दिए।

विर्तामोडमा सुरू भएको औद्योगिक तथा व्यापार महोत्सव माघ १९ गते समापन हुनेछ। महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, र भुटानका उत्पादनहरू प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *