ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल

ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी हालसालै एक लोकप्रिय पर्यटकीय गन्तव्य बनेको छ। पोखरीको वरिपरि स्थानीय सरकारले विभिन्न भौतिक संरचनाहरू निर्माण गरेपछि यो क्षेत्र पर्यटकहरूलाई आकर्षित गर्न थालेको हो। स्थानीय बासिन्दा गङ्गाबहादुर तामाङका अनुसार, पर्यटकहरू पोखरीको सौन्दर्य हेर्न र यस क्षेत्रको अन्वेषण गर्न उत्साहित छन्।

ताराखसे पोखरी धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ आउने पर्यटकहरूले पोखरी छेउमा रहेको देवीथानको दर्शन गर्ने गर्दछन्। जनविश्वास अनुसार, यस ठाउँमा स्नान गरी देवीको पूजा गर्दा मनोकामना पूरा हुन्छ।

रोशी गाउँपालिका–३ का स्थानीय सुरज लामाका अनुसार, गुरु रेन्पोछे (पद्मसम्भव)ले महाभारत लेकको टुप्पोमा रहेको यस पोखरीमा ध्यान गरेको किंवदन्ती रहेको छ। विशेष गरी जनैपूर्णिमाको दिन यहाँ मेला लाग्छ, जहाँ धामी झाँक्रीहरू कुण्डमा स्नान गरेर शक्ति आर्जन गर्ने मान्यता छ।

ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल
ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल

ताराखसे पोखरी प्राकृतिक रूपमा कहिल्यै नसुक्ने पोखरीको रूपमा परिचित छ। यो पोखरी ताराको टुक्रा खसेर जमिनमा परेको खाल्डोमा बनेको हो भन्ने किंवदन्ती रहेको छ।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यो क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय प्रशासनले विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ। रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाईबाका अनुसार, गाउँपालिकाले महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण लगायतका कामहरू गर्दै आएको छ। पोखरीसम्म पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै यात्रा गर्न सकिन्छ।

सङ्घीय सरकारको विशेष अनुदानतर्फको बजेटबाट पोखरीमा सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङ स्थल निर्माण गरिएको छ। यो क्षेत्रबाट हरियाली डाँडाकाँडा र सुन्दर हिमालका दृश्यहरू अवलोकन गर्न सकिन्छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीको थप प्रचार गर्न आग्रह गरेका छन्। यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आवश्यक संरचना र व्यवस्थापनमा निरन्तर काम भइरहेको जानकारी उनले दिएका छन्।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *