सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ।
विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। पाइलट शाक्य भने बाँच्न सफल भएका थिए। उनलाई लगत्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा लगेर उपचार थालिएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, उनको मेरुदण्डको अपरेसन हुने भएको छ।
‘शरीरका विभिन्न ठाउँमा घाउचोट छन्। कतै जलन भने छैन्। मेरुदण्डको अपरेसन गरिँदै छ,’ एक चिकित्सकले नेपालखबरसँग भने। उनका शरीरका केही परीक्षणहरूको रिपोर्ट आउन बाँकी छ। अस्पतालले उनको स्वास्थ्यवस्थाबारे जानकारी गराउँदै केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको छ। शाक्यको अहिले सोही अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।