काठमाण्डू, श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ ।
नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भयो ।
पहिलो खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गर्यो । उक्त खेलमा सम्झना खड्काले ४५ बलमा अविजित ७२ रनको इनिङ खेलिन् ।
दोस्रो खेलमा पाकिस्तानविरुद्ध भने उनले ५ बलमा एक चौकासहित ४ रन मात्र बनाइन् ।
पाकिस्तानविरुद्धको खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो ।
नेपालका लागि कविता जोशीले २३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।
नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।
बलिङमा नेपालका लागि कविता जोशीले मात्र एक विकेट लिन सकिन् । नेपाल अहिले दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
डिफेन्डिङ च्याम्पियन भारत भने एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
उसले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले तथा दोस्रो म्याचमा यूएईलाई ७८ रनले हराएको थियो ।
एसिया कपमा हालसम्म नेपाल र भारतले एक खेलमा एकअर्काको सामना गरेका छन् ।
यी दुई टिमबीचको पहिलो भेट सन् २०१६ को एसिया कपको भएको थियो, उक्त खेलमा भारतले दिएको १२१ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल २१ रनमै अलआउट भयो ।
र, नेपालले ९९ रनको हार बेहोर्यो । नेपाली टिम मंगलबार उक्त ८ वर्षअघिको फराकिलो हारमा केही सुधार गर्ने योजनामा छ ।
नेपाल भारतविरुद्ध जितका लागि भन्दा पनि राम्रो प्रदर्शन गर्ने कोशिष गर्नेछ । ८ संस्करण सकिँदा हालसम्म भारतले सर्वाधिक सातपटक एसिया कपको उपाधि जितेको छ ।
ऊ सबै संस्करणको फाइनलमा पुगेको छ । हाल भारत आइसीसी टी–२० वरीयतामा तेस्रो र नेपाल २१औँ स्थानमा छ ।
भारतविरुद्ध नेपालले प्लेइङ–११ दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।
अन्तिम खेलमा नेपालले कृतिका मरासिनी र विन्दू रावलको स्थानमा डली भट्ट र राजमति ऐरीलाई मौका दिने सम्भावना रहेको हो ।
यदि भारतविरुद्ध अवसर पाएमा राजमतिको यो डेब्यू खेल हुनेछ ।
आवाज बिहिनहरुको आवाज