काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। त्यसपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले माथिल्लो भोटेकोशी क्षेत्रमा भोटेकोशी बाढीको जोखिम अझै कायमै रहेको जनाएको छ।
त्यस्तै महाशाखाले भोटेकोशी बाढीको जोखिम–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन महाशाखाले अनुरोध गरेको छ।
भोटेकोशी बाढीको घटनाक्रम
घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे भूकम्प मापन भएको थियो। उक्त भूकम्प ४.४ रेक्टर स्केलको रहेको विभागको प्रतिवेदनमा उल्लेख छ।
भूकम्पपछि बिहान ८ः५० बजेदेखि स्याफ्रुबेँसी केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भयो। बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना प्राप्त भयो। त्यसपछि महाशाखाले तटीय क्षेत्रमा पूर्वसूचना तथा सतर्कता सन्देश प्रवाह गरेको थियो। बाढीको बहाव क्रमशः तल्लो क्षेत्रमा फैलिँदै गएको प्रतिवेदनले देखाएको छ।
बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो।यसपछि ११ः५० बजे बाढी मलेखु बजार क्षेत्रमा पुगेको थियो।त्यसपछि दिउँसो १ बजे बाढी मुग्लिङ क्षेत्र पार गरेको थियो।त्यसपछि दिउँसो ३ः२० बजे चितवनको देवघाट पुगेको थियो।
जलमापन केन्द्रका उपकरण बगाए
बाढीको तीव्र बहावले विभिन्न जलमापन केन्द्रमा क्षति पुर्याएको छ। रसुवाको भोटेकोशी र स्याफ्रुबेँसीका उपकरण बाढीले बगाएको छ। नुवाकोटको बेत्रावतीमा रहेका जलमापन उपकरण पनि बाढीले बगाएको छ। धादिङको मलेखुमा रहेका उपकरणमा समेत बाढीले क्षति पुर्याएको छ।
उपकरण बगेपछि ती स्थानको तथ्याङ्क यकिन हुन सकेका छैनन्। यसले बाढीको वास्तविक बहाव मापन गर्न थप चुनौती सिर्जना गरेको छ। महाशाखाले उपलब्ध तथ्याङ्कका आधारमा जोखिमको निरन्तर मूल्याङ्कन गरिरहेको छ।अन्ततः जलसतह अधिकतम १२.३ मिटर सम्म पुगेको रेकर्ड गरिएको छ।

महाशाखाले तिब्बततर्फ नदी थुनिएको स्थानमा अवस्था सामान्य नभएको बताएका छन्। त्यहाँ बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन। यसै कारण भोटेकोशी बाढीको जोखिम पनि बढ्न सक्छ। जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने सम्भावना भएको महाशाखाले जनाएको छ।
यसकारण नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक थप सचेत हुनुपर्ने देखिन्छ। सम्बन्धित निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। महाशाखाले जारी गर्ने सूचनालाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरिएको छ।



