प्रधानमन्त्री कार्की र जर्मन राजदूत भोल्जबीच द्विपक्षीय छलफल

प्रधानमन्त्री कार्की र जर्मन राजदूत भोल्जबीच द्विपक्षीय छलफल

१३ कात्तिक, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटमै नेपाल र जर्मनीबीचको मित्रता, सहयोग र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको हो। यो भेट प्रधानमन्त्री कार्की नियुक्त भएपछि दुई देशबीचको पहिलो उच्चस्तरीय भेटघाट पनि हो।

भेटका क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जर्मनीले सदाझैँ नेपालको प्राथमिकताअनुसार सहयोग पुर्‍याउन तत्पर रहेको बताए। उनले विकास, सुशासन र प्रविधि क्षेत्रमा जर्मनीले निरन्तर सहकार्य गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए। प्रधानमन्त्री कार्कीले नेपालको आर्थिक र प्रशासनिक सुधारमा जर्मनीको साथ र विश्वासका लागि धन्यवाद व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले नेपालमा राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि आवश्यक तयारी र पहल गर्न आग्रह गरिन्। उनले यस कदमले नागरिकलाई छिटो र प्रभावकारी सेवा दिने विश्वास व्यक्त गर्दै जर्मनीको प्राविधिक समर्थनको अपेक्षा जनाइन्।

जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट सम्बन्धित कम्पनीलाई अनुरोध गरी छपाइ प्रक्रिया छिटो सुरु गर्न पहल गर्ने बताए। उनले नेपाल–जर्मनी सम्बन्ध अझ सुदृढ बनाउन दुवै पक्षबाट सहकार्य निरन्तर रहने आश्वासन दिए।

भेटका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत अधिकारीहरूको उपस्थिति थियो। सो अवसरमा दुवै देशबीच दीर्घकालीन साझेदारी र कूटनीतिक मित्रता अझ सशक्त बनाउने विषयमा सकारात्मक संकेत प्रकट गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *